माघ २ र ३ गते इटहरी रंगशालास्थित कवर्डहलमा प्रेस स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

सुप्रिया राई

इटहरी । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजना तथा कुमार गुरुङ र कुल बहादुर गुरुङको सहकार्यमा यहि माघ २ र ३ गते इटहरी रंगशालास्थित कवर्डहलमा प्रेस स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

 कार्यक्रमबारेको विस्तृत जानकारी इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

आयोजकका अनुसार यस प्रदेश–स्तरीय प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका करिब ५०० खेलाडी सहभागी हुनेछन्। लामो समयदेखि इटहरीमा तेक्वान्दो प्रशिक्षण प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको चन्द्रमा डोजाङले यो प्रतियोगिता दोस्रो संस्करणमा प्रवेश गरेको डोजाङका प्रमुख कुल बहादुर गुरुङले जानकारी दिए।

इटहरी रंगशालाको कवर्डहलमा हुने प्रतियोगितामा १४ विभिन्न इभेन्ट समावेश गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुष दुवै श्रेष्ठ खेलाडीलाई जनही रु ५,००० नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, टिम प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई रु ५०,००० नगदसहित ट्रफी र प्रमाणपत्र तथा दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई रु २०,०००नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमका बारेमा जानकारी आदान–प्रदान गरिएको पत्रकार सम्मेलनमा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला, समाजसेवी राजु केसी लगायत स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिकाको सहयोग तथा खेलप्रेमी समुदायको सहकार्यमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिने विश्वास व्यक्त गरिएको थियो।

सुप्रिया राई
प्रतिक्रिया