रास्वपा प्रथम महाधिवेशन अब बन्दसत्रतिर, रास्वपाको विधान संशोधन, उपसभापतिमा महिला अनिवार्य, चारवटा प्रतिवेदन पेश हुने

फाष्ट मिडिया नेपाल संवाददाता

चित्र सिग्देल, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संरचनालाई थप समावेशी बनाउने उद्देश्यसहित विधान संशोधनको तयारी गरेको छ। पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने संशोधित विधानमार्फत महिलासहित विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको हो।

महाधिवेशनको दोस्रो दिन सोमबार चितवन प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा विधान संशोधनमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार अब पार्टीको कार्यसमितिमा कम्तीमा एक महिला उपसभापति अनिवार्य हुने व्यवस्था गरिएको छ।

संशोधित व्यवस्थाअनुसार पार्टीमा एक सभापति, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुनेछन्। त्यस्तै एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

नयाँ विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। तीमध्ये सभापतिसहित १०० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापतिले समावेशी आधारमा मनोनयन गर्ने व्यवस्था गरिएको छ। सातै प्रदेशका सभापतिहरू स्वतः पदेन सदस्य रहनेछन्।

यसअघि कोषाध्यक्ष र प्रवक्ता मात्र सभापतिबाट मनोनयन हुने व्यवस्था रहेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनयन गर्न सकिने प्रावधान थपिएको पराजुलीले बताए। “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधान संशोधन गरिएको हो,” उनले भने, “सबै तहमा महिलाको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको छ।”

विधानमा प्रदेशगत तथा समुदायगत प्रतिनिधित्वको व्यवस्था पनि गरिएको छ। प्रत्यक्ष निर्वाचित हुने ९९ केन्द्रीय सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच जनाका दरले सदस्य चयन गरिनेछ। प्रदेशबाट आउने ३५ प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

त्यस्तै गण्डकी र कोशी प्रदेशबाट एक–एक जना जनजाति, सुदूरपश्चिम र कोशी प्रदेशबाट एक–एक जना दलित, लुम्बिनी प्रदेशबाट एक थारू तथा मधेस प्रदेशबाट एक मधेस दलित प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।

महाधिवेशनको बन्द सत्रमा अनुशासन, आर्थिक, संगठनात्मक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछन्। त्यसपछि विधानमाथि छलफल गरी पारित गरिनेछ। बन्द सत्र सकिएपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यतालिका छ। महाधिवेशनअन्तर्गत मंगलबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

 बन्द सत्रका कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरू हुनेछ। बन्द सत्रका कार्यक्रम सभापति रवि लामिछानेले सञ्चालन गर्नेछन्। बन्द सत्रमा चारवटा प्रतिवेदन पेश हुने कार्यतालिका छ।

सुरूमा केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालेले प्रतिवेदन प्रस्तुत गर्नेछन्। बिहान ९ देखि साढे ९ बजेभित्र आर्थिक प्रतिवेदन पेस हुनेछ। प्रतिवेदन पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले पेश गर्नेछिन्। साढे ९ बजेदेखि आधा घन्टा चिया ब्रेक राखिएको छ। त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसमा बिहान १०:४५ बजेसम्म छलफल हुने भनिएको छ।
त्यसपछि विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका छ। त्यसका लागि १०:४५ देखि ११:४५ सम्मको समय तोकिएको छ। पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यसमा छलफलका लागि ११:४५ देखि १२:४५ सम्मको समय तोकिएको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया