काठमाडौं । बाढीका कारण देशभर २५८ जनाको मृत्यु भएको छ भने ९१० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार दिउँसो २ बजेसम्मको तथ्यांकमा यस्तो अवस्था देखिएको हो ।
बाढीबाट सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ । त्यहाँ १०८ जनाको शव फेला परेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा २ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन् । त्यस्तै रसुवाका १६१ जना र नुवाकोटका एक जना नागरिक पनि सम्पर्कविहीन छन् ।
बाढीबाट ३५ देशका ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १२७ जना नेपालीसमेत सम्पर्कविहीन रहेको प्रवक्ता महतले बताउनुभयो ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ९ हजार २६० सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् ।
बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएका छन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतक तथा बेपत्ताको विवरण अझै बढ्न सक्ने देखिएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो